आत्मा नै ‘जीव-जगत’ रुपमा भासित हुन्छ- अज्ञानमा।
//देहोहं इति अज्ञानम्//
म देह हुं- यो नै अज्ञान हो।
अन्य कुनै अज्ञान छैन।
आफ्नो अनुभवको सुक्ष्म अनु सन्धान गर्दा ‘म देह हुं’ असिद्ध हुन्छ।
त्यो नै ज्ञान हो।
म ज्ञानकर्ता होइन- अपितु ज्ञानस्वरुप हुं।
जाग्रत, स्वप्न र सुषुप्ति हाम्रो समग्र अनुभव हो। यी तिनै अबस्थामा आफ्नो उपस्थिति र प्रपन्चको परिवर्तनशिलताको सार्वभौमिक अनुभवले हामिलाई आफ्नो स्वरुपको चिनारी दिन्छ।
यदि आफु यो जाग्रत अबस्थाको शरीर आदि भएको भए, स्वप्नमा पनि यो शरीरको उपलब्धि हुन्थ्यो तर हाम्रो अनुभव त्यस्तो होइन। स्वप्नमा हामी हुन्छौं तर जाग्रतको केहि पनि त्यहां जादैन। जाग्रतको अहं स्वप्नमा जादैन। जाग्रत को सम्पूर्णको तिरोधान पछि पनि मेरो पूर्ण उपस्थिति मेरो अनुभव हो। यो सार्वजनिन अनुभव हो। त्यसैले मैले केहि नगरि कनै यो सत्य हो। त्यसैले यो सिद्ध हुन्छ कि म जाग्रतको (अहिलेको) न शरिर हुं, न प्राण हुं, न मन हुं, न बुद्धि हुं, न त हुं जाग्रत अभिमानि अहं नै।
स्वप्नलाई जाग्रत अबस्थाबाट हेर्दा मात्र स्वप्न भनिएको हो, जब स्वप्न घटित हुन्छ तब त्यो जाग्रत रुपमा नै घटित हुन्छ। त्यसैले स्वप्र आफ्नै स्थानमा जाग्रत नै हो। त्यहां पनि अन्तकरण, शरिर र जगतको उपस्थिति हुन्छ। त्यहा पनि देहाभिमान हुन्छ। त्यहां पनि कर्तृत्व, भोक्तृत्व, ज्ञातृत्व हुन्छ। जाग्रत अभिमानि भएर हेर्दा मात्र स्वप्न स्वप्न हो। स्वप्नै बाट हेर्दा चाहिं जाग्रत र स्वप्नको स्वरुप एउटै ठहर्छ।
सुषुप्ति लाइ जाग्रतबाट हेर्दा “केहि थाहा नभएको” अबस्थाको रुपमा कल्पना गरिन्छ। सारा बिचारकहरुले बिना कामको भनिएको सुषुप्ति वेदान्त मा सबै भन्दा महत्वपूर्ण अबस्था मानिन्छ- आत्म स्वरुपको निर्क्योलको लागि।
जाग्रत अभिमानि भई हेर्दा सुषुप्ति एउटा खालिपनले भरिएको, अन्धकारले भरिएको र आफू र जगतको अभावको रुपमा प्रतित हुन्छ। सुषुप्ति अभावको अनुभवको रुपमा भासित हुन्छ। तर के यो व्याख्या हाम्रो वास्तविक अनुभव हो या यो जाग्रत अहं को अतिरंजीत व्याख्या हो?
सुषुप्ति हाम्रो अनुभव हो, यसमा सन्देह छैन। तर त्यसको बास्तविक स्वरुप के हो यसमा हामी झुक्किएका छौं। जाग्रत र स्वप्नमा द्वैत छ। त्यहि द्वैतको चश्माले हेर्दा मात्र सुषुप्तिको बारेमा भ्रम छ। शास्त्र सुषुप्तिलाइ सुषुप्तिकै दृष्टिले हेर्न आग्रह गर्छ। र, त्यसरि हेर्दा सुषुप्ति को बास्तविक स्वरुप प्रकट भैहाल्छ।
अन्ततः जाग्रत र स्वप्नको साक्षी आत्मा, जो सर्वात्मा हो, त्यही नै सुषुप्तिमा अद्वितीय शुद्ध चैतन्य रुपेण प्रकाशित हुन्छ।
अबस्था त्रय परीक्षा गर्नको लागि जाग्रत अनुभवको शरिरआदि लाई दृश्यत्व को आधारमा निषेध गर्दै पहिला शरिर, मन आदिलाई थाहा पाउने प्रमाता (knower) को रुपमा उभिनु पर्दछ। यसरि उभिनु भनेको कुनै अभ्यास नभइ आफ्नो अनुभवमा पूर्वसिद्ध रुपमा रहेको वास्तविकताको अनुमोदन मात्र हो। अर्थात आफू शरिर, मन, बुद्धि, अहं को ज्ञाता पूर्वसिद्ध भएकोले अनुभव मा हेरि त्यसको टिपोट मात्र गर्ने हो। र, यसरि हेर्नुपूर्व को ‘म शरिर हुं’ आदि भावहरु मित्थ्या प्रत्यय (गलत विचार) मात्र भएकाले ति गलत धारणाहरुलाइ निषेध गरि आफू देहादिको ज्ञाता भई प्रमेयहरुमा (शरिर आदिमा) भएको आत्मभावलाइ निरशन (फाल्नु, अस्विकार गर्नु, बाध गर्नु) गर्नु पर्दछ। यो पहिलो सोपान हो।
त्यसपछि जाग्रत अभिमानी, जाग्रत अवस्था अन्तर्गत अबस्थित ज्ञाता रुपमा जुन आत्माको सिद्धि छ, त्यसैलाइ पूर्ण अनुभव को (जाग्रत,स्वप्न र सुषुप्ति को अनुभवको) आधारमा साक्षीरुपेण अनुमोदन गर्नु पर्दछ अर्थात साक्षी को स्थान लिनुपर्दछ।
म साक्षी हुं- यसलाइ कसरि बुझ्ने?
उत्तर- म जाग्रदादि तिनवटै अबस्थामा चैतन्य रुपेण सिद्ध छु। तर त्यस्तो सिद्धिमा शरिर, मन, अहं आदिको कुनै भूमिका छैन। त्यसैले म जाग्रत अवस्थाभित्र छैन। जाग्रदादि अवस्थाहरु को साक्षीरुपमा पो म सधैं अवस्थित छु। त्यसैले म ज्ञाता पनि होइन अपितु म त ‘अवस्था-साक्षी’ पो हुं त- यस्तो प्रकृति को साक्षात अनुभव मा टेकेर गरिने अनि अनुभव सिद्ध निष्कर्शद्वारा साक्षीको स्थान लिनुपर्दछ। यो दोस्रो सोपान हो।
साक्षी, अवस्था भित्र छैन। जाग्रदादि सबै अवस्थाहरु साक्षीमा प्रकट हुन्छ। यसरि देख्नुपर्दछ।
साक्षी ज्ञाता होइन, प्रकाशक मात्र हो। साक्षीमा इन्द्रीय आदिको आत्यन्तिक अभाव छ त्यसैले साक्षीद्वारा ज्ञान कृया सम्भव छैन। साक्षी वस्तुत कुटस्थ, नित्य, परमार्थ, सर्वदृक, सत् चित् ज्ञान स्वरुप हो।
सम्पूर्ण अवस्थाको साक्षी अनेक छैन। सबै जीवमा एकै साक्षी प्रतिबिम्बित हुन्छ जसरी अलग अलग भाडोमा राखेको पानिमा एकै सूर्य प्रतिबिम्बित हुन्छ।
जीव भाव साक्षी आत्माको प्रतिबिम्ब मात्र हो त्यसैले मित्थ्या हो। म कर्ता हुं, भोक्ता हुं, ज्ञाता हुं आदि बास्तवमा आत्मअज्ञानमा झूल्किने भ्रम मात्र हो। आफ्नो स्वरुपमा अहिलेनै ती केही पनि छैन।
साक्षी देश (SPACE), काल (TIME) र वस्तु (OBJECT) परिछिन्न (सिमित्/ LIMITED) छैन त्यसैले यो सर्वगत, कालातीत र अखन्ड छ। साक्षी शरिर भित्र छैन, यो जाग्रत अवस्था भित्र मात्र छैन। अथवा किनकि यो सर्वव्यापी छ त्यसैले शरिर मा पनि छ, जगतमा पनि छ तर यो केहिमा पनि सिमित छैन।
यहि साक्षीमा पूरै जाग्रत अवस्था प्रकट हुन्छ। तव यसलाइ जाग्रत अवस्थाको साक्षी भनिन्छ। तर अविचारित अवस्थामा हामि आफूलाइ जाग्रत अवस्था भित्रको एउटा शरिरधारी, ईन्द्रियजन्य व्यापार गर्ने, सुखी दुखी संसारी र जन्मादी षड्विकार वाला जीव को रुपमा पाउछौं। र यसमा हामिलाई कत्ति पनि संदेह हुदैन। यो एकदम नैसर्गिक रुपमा उपलब्ध हुन्छ। तर यो नै मूल अज्ञान हो। हाम्रो संपूर्ण व्यवहार यहि अज्ञानमा आधारित छ। यति हुंदा हुंदै पनि हामि अहिले नै त्यहि स्वप्रकाशक साक्षी चैतन्य नै हौं।
यहि साक्षीमा पूरै स्वप्न अवस्था प्रकट हुन्छ। तव यसलाइ स्वप्न अवस्थाको साक्षी भनिन्छ। तर स्वप्नमा पनि हाम्रो कुनै शरिर विशेषसंग मिथुनिकरण हुन्छ र हामि जीव भाव ग्रहण गर्छौं। जस्तो स्वप्न हो त्यस्तै जाग्रत हो। जस्तो जाग्रत हो त्यस्तै स्वप्न हो।
सुषुप्तिमा चाहिं जीव-जगतरुपी द्वैत प्रपञ्च हुदैन। त्यहां साक्षी मात्र हुन्छ। त्यसैले सुषुप्ति भनेको शुद्ध चैतन्य मात्र हो। त्यहि शुद्ध चैतन्यलाइ नै अवस्था संगको सम्बन्धमा साक्षी भनिएको हो।
प्रश्नः त्यसो भए परमार्थिक रुपमा साक्षी हाम्रो आत्मा हो कि सुषुप्ति मा उपलब्ध हुने शुद्ध चैतन्य हाम्रो स्वरुप हो?
उत्तरः यहि प्रश्नको उत्तरमा नै ब्रम्हात्मा ऐक्य को सुत्र लुकेको छ। यहि कुराको साक्षात अपरोक्ष बोधलाइ नै आत्मानुभूति, ब्रम्हानुभूति भनिन्छ। त्यसपछि, त्यहि क्षणमा नै जीव हुन छोडिन्छ र भइन्छ त्यो जो आफू बास्तवमा सधैं हो। अर्थात अज्ञान नष्ट भैहाल्छ। आत्मज्ञान भैहाल्छ।
वास्तविक कुरा यस्तो छः
साक्षी नै आत्मा/ब्रम्ह हो। साक्षी नै आत्मा हो र शास्त्र भन्छ ‘अयमात्मा ब्रम्ह’ – यो आत्मा नै ब्रम्ह हो।
आत्मा भनेको कुनै पनि वस्तु को वास्तविक स्वरुप हो। अर्थात जुन वस्तुको निषेध गर्न नसकिने, कहिल्यै पनि परिवर्तन नहुने र जहिले हेर्दा पनि उपलब्ध हुने ‘गुण’/ ‘लक्षण’ वा ‘सत्ता’ लाइ त्यस वस्तुको आत्मा भन्न सकिन्छ।
अनुभवमा ज्ञाता र ज्ञेय छ। ज्ञाताको अनुसन्धान गर्दा हामिले के पायौं भने त्यो त ज्ञाता नभइ साक्षी पो रहेछ।
ज्ञेय लाइ हेर्दा त्यो त परिवर्तनशील, स्वप्न वत् र मित्थ्या पो रहेछ- त्यो पनि थाहा पायौं।
सुषुप्ति मा हेर्दा के थाहा पायौं भने, यो सारा द्वैत प्रपञ्च त अज्ञानबशात् उपलब्ध हुने माया (भ्रम) पो रहेछ। बास्तवमा आत्मा मा कुनै जीव-जगत व्यबहार नै छैन।
जब यस कुरा को निर्क्योल हुन्छ तव जुन साक्षी (शास्त्र द्वारा अद्यारोपित) छ (आत्मा) त्यो नै अद्वितीय ब्रम्ह रुपेण प्रकाशित हुन्छ र द्वैतको आत्यन्तिक निरसन भैहाल्छ।
साक्षी-साक्ष भाव सहितको आत्म वस्तु शास्त्र द्वारा अद्यारोपित हो। त्यो शास्त्र दृष्टि हो। त्यसले प्रमाता भाव (जीव दृष्टि) को निषेध गर्छ। फेरि नेति नेति द्वारा अर्थात उक्त साक्षी –साक्ष भावको निषेध द्वारा, मन, बुद्धि, इन्द्रिय अगोचर आत्मालाई अनात्मभावको निवर्तन (निषेध) गरि ‘तत् त्वं असि’ रुपी शव्द प्रमाण द्रारा आत्मालाई वा ब्रम्हलाइ अपरोक्ष (DIRECT) रुपमा ग्रहण गरिन्छ।
प्रश्नः आत्मालाई ग्रहण गर्ने भन्ने कुरा अलि बुझिएन!
उत्तरः ‘सिद्धं तु निवर्तकत्वात्’– आत्मा मित्थ्या विकल्पहरुको निवर्तनद्वारा मात्र सिद्ध हुन्छ न की – आत्मा यो हो आदि भनेर। आत्मा कुनै वस्तु होइन। त्यो त जाग्रत अभिमानि पुरुषको स्वरुप हो। इन्द्रिय, मन, बुद्धि आदिद्वारा आत्मा ग्रहण हुदैन। त्यसरी देखियो, ग्रहण भयो भने त त्यो अनात्मा भैहाल्यो नि!!
त्यसैले त्यस्तो अपरोक्ष आत्मालाई नैसर्गिक अज्ञान द्वारा शरिर आदिमा मिसाई ‘अहं ईदम्, ममेदम्’ – म यो हुं र यो मेरो हो रुपि भावमा निमग्न जीवलाई उस्को स्वरुप निर्णयार्थ “तिमि यो होइनौं, तिमि यो होइनौं” भनि जति पनि विकल्पहरु छन् ति सबैको निषेध गर्नमा मात्र शास्त्र्उपदेश प्रमाणको रुपमा काम गर्छन। जब सबै विकल्पहरु कल्पना रहेछन् भन्ने थाहा हुन्छ, तव आफू त सधैं उपलव्ध नै छ नि!! आफूले आफैलाई जान्न नै पर्दैन नी!!!
त्यसैले, अन्तमा, आत्म ज्ञान भनेको आत्मालाई जान्नु आदि होइन अपितु अनात्म भावको पूर्ण निषेध नै आत्म ज्ञान हो।